विपत्तिमा युवाको भूमिका
शोभा शर्मा
बैशाख १२ गते नेपालमा भूकम्प गए पछि कसैले यसलाई विनासकारी त, कसैले महाभूकम्पको संज्ञा दिए | भूकम्प आफैँमा विनासकारी हुँदैन | कमजोर भौतिक संरचना र जनचेतनाको अभावको कारण नै नेपालमा धेरै मानविय तथा भौतिक क्षति हुन गयो | जीवनमा कहिल्यै यति ठुलो विपत्ति नभोगेको युवा पुस्ता सुरुका दिनमा डर, त्रास र पीडामा रहे | जब उनीहरुलाई अनुभूति भयो | यसको असर हरेक व्यक्तिमा कुनै न कुनै रुपमा परिरहेको | तब उनीहरु, आफ्नो पीडालाई भुलाई, अरुको मद्दत गर्न एकजुट भए |
भूकम्प लगत्तै, केहि युवा साथीहरुले विपतलाई अवसरको रुपमा लिई नविनतम कार्यको थालनी गरे | नयाँ सोच तथा उत्साहका साथ यस कार्यको थालनी भयो | भूकम्प अति प्रभावित क्षेत्रमा उद्धार, राहत र पुननिर्माणको कार्यलाई सहज र प्रभावकारी बनाउने प्रयासलाई सघाउन युवाहरु उद्धत भए | ‘‘सामाजिक मुल्यांकन’’ नेपाली युवाहरुको लागि नितान्त नयाँ शब्दावली थियो | कहिल्लै नसुनेको र कहिल्लै नगरेको कामको संयोजन मार्टिन चौतारीले गरेको थियो | स्वयंसेवक, यातायात र खाजा खर्च आदि उपलब्ध गराउने सहमति सहित गल्ली-गल्ली, कोक्याप, बुकाहोलिक्स र आएक्टफरक्वेकले सहकार्य गरेका थिए |
‘’सामाजिक मुल्यांकन’’जर्ज गोयदरले सन् १९५० मा प्रतिपादन गरेका थिए | समाजलाई जवाफ देयिताको क्षेत्रमा जरादेखि नै मजबुत बनाउनु यसको विशेषता हो भनेर उनले औंलाएका थिए | भारतको आन्द्र प्रदेशमा सन् २००६ मा, भष्ट्राचारमा पारदर्शिता ल्याउने उदेश्यका साथ सामाजिक मुल्यांकनको थालनी भएको थियो | सरकारी निकायका विभिन्न पदमा बहाल कर्मचारीले संगठनात्मक रुपमा गर्ने भ्रष्टाचार विरुद्ध सेवाग्राहीलाई झक्झकाउन यसको प्रयोग गरेका रहेछन | जसको ध्येय संयन्त्रमा सुधार गरि उत्पिडनमा परेकोलाई न्याय खोज्न मौका दिनु थियो | तीन बर्षसम्म निरन्तरता दिइएको यस कार्यले हैदराबादमा सुशासन कायम गर्न मद्त मिल्यो भनिन्छ |
यसैबीच, भूकम्प पछिको अवस्थामा राहत, उद्धार र पुनर्निर्माणको कार्य कसरी बढेको छ भनि बुझ्न र मसिनो तरिकाले निगरानी राख्न सामाजिक मूल्यांकनको सुरुवात भयो | जसको लागि तीन वटा समुह गठन गरियो |
(भक्तपुरको झेंला, काठमाडौंको गंगबु र ललितपुरको लेले)यि तिनै, भूकम्प अति प्रभावित ठाउँको रुपमा संचार माध्यममा चित्रण भएको थियो | भक्तपुरको झेंला पुरानो बस्ती थियो, जहाँका हजारौ पुरानो घर भूकम्पबाट भग्नावशेषमा परिणत हुँदा असंख्य मानिसले अनाहकमा नै आफ्नो अमुल्य जीवन गुमाउनु पर्यो |
त्यस्तै, गोंगबुमा बसपार्क संचालनसँगै अव्यवस्थित रुपमा आवादी बढिरहेको थियो | विभिन्न ठाउँको मानिसको आश्रयस्थलको रुपमा बिकसित त्यस ठाउँमा होटेल, लज, गेस्टहाउस आदिको व्यवसाय फस्टाएको थियो | मापदण्ड विपरित बनेका अग्ला-अग्ला घर, भूकम्कको झट्का थेग्न नसकेर भत्किएका थिए | सोहि घरले थिचेर, देशको विभिन्न भुभागबाट रोजगारीको सिलसिलामा बिदेशिन आँटेका कति नेपालीको ज्यान जानुका साथै र केहि घाइते भए |
भूकम्प अघि लेले, ललितपुर जिल्लाको दुर्गम गाउँको रुपमा चिनिन्थ्यो | सिलवाल, सिजापति, मिजार, तामाङ, सुनुवार आदि जातिको बहुल्यता रहेको यो ठाउँमा, भूकम्पले मानविय क्षति खासै नगराएता पनि भौतिक क्षति धेरै नै भएको पाइयो | तामाङ समुदायको बस्ती रहेको महाँकाल गाउँमा धेरै घरहरु पुर्ण रुपमा क्षति भएको पाइयो |
यि र यस्तै कुराको मिहिन अध्ययन गर्न, लेलेमा हामी तेह्रजना युवा भूकम्प गए पश्चात त्यही नै रहने गरी ‘’सामाजिक मुल्यांकन’’ गर्न जुटेका थियौं | काम गर्दै जाँदा हप्ता बितेको पनि पत्तै भएन | तेह्र जनाको समुहलाई तीन उपसमूहमा बिभाजन गरी काम अघि बढाइयो | क्रस कटिंग, गभरनेन्स र टेक्निकल नाम दिइ, निम्न उपसमूहलाई काम भाग लगाइयो |
क्रस कटिंग टिमका साथीहरुले स्थानियको धारणा बुझ्न वडा न. ४ मा अवस्थित महाँकालको यात्रा तय गरे | त्यस्तै, टेक्निकल टिमका साथीहरु भत्किएको घरको सुपरिवेक्षण र लगत टिप्न आएका इन्जिनियरको टोलीसँग, उनीहरुको कामको तरिका बुझ्न वडा न. ७ तिर लागे | गभरनेन्स टिम पनि लेले बजारसँगै रहेको गा.वि.स भवनतिर लाग्यो | गा.वि.समा बिस्थापित भएर समस्यामा परेका स्थाननियबासीहरु घन्टौदेखि पालको प्रतिक्षामा थिए | माग अनुसारको आपुर्त्ति नहुँदा गाविसलाई पनि पाल उपलब्ध गराउन हम्मे-हम्मे परेको थियो |
भूकम्प गए लगत्तै, गाविस सचिवको नेतृत्वमा बसेको बैठकले, व्यवस्थित रुपमा राहत, उद्धार र पुनर्स्थापना गर्न सम्यन्त्रको गठन गर्यो | जिल्ला प्रशासन कार्यालयबाट पठाएका राहत सामग्री सोहि सम्यन्त्र मार्फत वितरण हुँदै आएको रहेछ | सम्यन्त्रमा, गा.वि.स सचिव लगाएत गाउँका बुद्धिजिबीहरुको संलग्नता थियो भने राजनीतिक प्रतिनिधिलाई सम्यन्त्रबाट अलग्याएको थियो | उनीहरुलाई अलगाउनुको कारण सोध्दा , स्थानियबासीले उनीहरु प्रति रतिभर विश्वास नगर्नु रहेछ | राजनीतिक प्रतिनिधिहरुको द्वैध चरित्र नै यस्तो हुनुको प्रमुख कारक तत्व रहेछ | निर्वाचन पछि, गाउँको अवस्थाको बारेमा खासै चासो नराख्ने सभासदप्रति जनतामा वितृष्णा जागेको रहेछ | स्थानिय प्रतिनिधिलाई पनि सोहि कारण सम्यन्त्रबाट हटाईएको उनीहरु स्वयं नै स्वीकार गर्छन् | राहत संकलन र वितरणको अवलोकन गर्नु सिवाय उनीहरुको निर्णायक तहमा कुनै भूमिका थिएन |
बिगत लामो समयदेखि देश राजनितिक संक्रमंकालिन अवस्थाबाट गुज्रिरहेको छ | जसले गर्दा सरकार कमजोर र लाचार देखियो | राजनीतिक दुरदर्शिता र दृढ इच्छा शक्तिको अभावमा स्थानिय निकायको चुनाव समयमा हुन सकेन | रिक्त निर्वाचित स्थाननिय प्रतिनिधिको कारण, राष्ट्रिय विपत्तिको बेलामा गठित सम्यन्त्रहरुले स्थानियको मर्म अनुसार काम गर्न सकेनन् | राहत र पुनर्निर्माणको कार्यले गति लियोस् भन्नको लागि देशमा स्थानिय निकायको संबैधानिक हिसाबले बहाली हुन जरुरी छ |
सरकारले यस्तो विपत्ति यति छिट्टै सामना गर्नुपर्ने अनुमान गरे कै थिएन | तसर्थ, विपत व्यवास्थापनको तयारीमा राज्य चुक्यो | यही कुरालाई मनन गरि युवाहरुले यस अकल्पनिय भवितव्यको बेला, जुन प्रकारको साहस, निस्वार्थ भावना र सहयोगको दृष्टान्त प्रस्तुत गरे | सोहि कारण विश्वले आज उनीहरुको मुक्त कण्ठले प्रशंसा गरिरहेको छ | विपतको बेलामा राहत, उद्धार र पुनर्स्थापनामा लाखौ युवाहरुको भूमिका उल्लेखनिय थियो र छ |
“सामाजिक मूल्यांकन’’सरकारको कार्यशैली तथा विपदसँग गासिएको भित्रि पक्षहरुमा ध्यान दिई यस पछीका सबै प्रक्रियालाई भरपर्दो बनाउन र समुदायलाई यसबारे जानकारी दिलाउन गरिएको हो | विपत पछि, सार्वजनिक रुपमा हुने प्रयासलाई संस्थागत गर्न पनि यसले पक्कै सघाउने छ | यसले, नीति निर्माण तहमा बसेका व्यक्तिलाई, उचित निर्णय लिन सघाउनुका साथै समाजमा लुकेर रहेका तत्वहरुलाई बाहिर प्रकाशमा ल्याउन मद्दत गर्छ | विगतबाट पाठ सिकेर बर्तमानमा बाँच्न आशाको संचार गर्छ | यसलाई दस्ताबेजको रुपमा बाहिर ल्यायमा भाबी पुस्ताले मार्ग दर्शन पाउनेछन् |